भारत र चीनबीच नेपाली भूमि लिपुलेक प्रयोग गर्दै व्यापार गर्ने सहमति

२०८२ भाद्र ४ गते, बुधबार


काठमाडौँ । भारत र चीनले नेपाली भूमि लिपुलेक पास हुँदै द्धिपक्षीय व्यापार खुला गर्ने सहमति गरेका छन् । दुवै देशले नेपाललाई बिना कुनै जानकारी दिई नेपाली भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका हुन् ।
भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको हो । दुई देशबीच भएको सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमति भएको उल्लेख छ ।
यसअघि पनि भारत र चीनले नेपाली भूमी लिपुलेख हुँदै एकअर्काबीच व्यापार गर्ने विषयमा सहमति जुटाएका थिए । विसं २०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछियाङबीच यस्तो सहमति भएको थियो । यो सहमतिप्रति नेपाल सरकारले असन्तुष्टि जनाउँदै दुबै देशलाई कुटनीतिक नोट पठाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफको धम्किका बीच भारत र चीन यतिबेला नजिकिएका छन् । सीमा विवादका बीच दुवै देशले सम्बन्ध सुधार्ने सकारात्मक संकेत गरेका छन् । भारतीय विदेशमनत्री एस जयशंकरले गत महिना गरेको चीन भ्रमणपश्चात चिनियाँ विदेशमन्त्रीले पनि यही अगस्ट १८ र १९ तारिखमा भारतको भ्रमण गरेका छन् ।

स्मरणीय छ, भारत–चीनबीच सन् २०१५ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक मार्ग प्रयोग गर्ने सहमति भएको थियो, जसमा नेपाललाई जानकारी नगराइ निर्णय गरिएको भन्दै नेपालले कडा आपत्ति जनाएको थियो । नेपालले तत्कालीन अवस्थामा उक्त सहमतिलाई अस्वीकार्य भन्दै परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएको थियो ।
लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा नजिकको क्षेत्र हो । नेपालले लिपुलेकसहित लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो भूमि ठहर गर्दै २०७७ मा संविधान संशोधनमार्फत नयाँ नक्सा सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]