इम्बोस्ड नम्बर प्लेट जडान नगर्दैमा दण्ड/जरिवाना हुँदैन

२०८२ भाद्र १० गते, मंगलवार


काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।
विभागका महानिर्देशक राजिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘इस्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनमा क्रमश: जोड्दै लैजाने निर्णय भएको तर, मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयलाई तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ। ’
विभागले सरकारले सबै क्षेत्रलाई डिजिटलाइज गर्दै गएको र यातायात क्षेत्रलाई पनि क्रमश: डिजिटलाइज गर्दै जानुपर्ने भन्दै स्व:फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी सहयोग गर्न आग्रह गरेको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरूमा सेवाग्राहीको सहजताका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागिरहेको विभागको भनाइ छ ।
यसअघि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटलाई विभागले अनिवार्य गर्न लागेको र जडान नगरे जरिवाना तिर्नुपर्ने चर्चा थियो । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपीबारे समेत विभागले प्रष्टिकरण दिएको छ । ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटी नदेखाइएको भन्दै विभागले त्यसलाई उचित भनेको छ ।
सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतमा समेत अंग्रेजी लिपी प्रयोग भएको विभागले स्मरण गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]