प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य , शिक्षामन्त्री रघुजी पन्त र पर्यटनमन्त्री बद्री पाण्डे हुने जनाईएको छ । प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडापनि सहभागी हुनेछन् । यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका सांसद छविलाल विश्वकर्मापनि भ्रमणमा दलमा सामेल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको टोली आगामी सेप्टेम्बर ३ तारिखमा नेपाल फर्कने कार्यतालिका छ ।
प्रधानमन्त्री यही अगष्ट ३०मा चीन जाने भएका हुन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन जान लागेका हुन् ।
भ्रमणको क्रममा चीनमा रहँदा विश्वका विभिन्न नेताहरुसँगपनि प्रधानमन्त्री ओलीले भेट्ने जनाईएको छ । यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा एससिओ प्लस समिटलाई सम्बोधन गर्ने जनाईएको छ ।