सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने गरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले आज पनि वादविवाद गर्न थालेका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका ती युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।
जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ । समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।
भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् ।
यसैबीच, नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ । जंगीअड्डा बाहिर भेला भएर युवाहरुले नाराबाजी गर्न थालेपछि सेनाले माइकिङ गर्दै तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको हो ।
जंगीअड्डा बाहिर विभिन्न जेनजी समुह र हर्क साम्पाङका समर्थन भेला भएका थिए । त्यस्तै ठुलो संख्यामा मिडियासमेत भेला भएपछि सेनाले उनीहरुलाई हटाउन शुरु गरेको छ ।
भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।