जेन जी पुस्ता नेकपामा गाेलबन्द हुन जरुरी

२०८२ आश्विन १० गते, शुक्रबार


काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा अखिल (समाजवादी) का केन्द्रिय अध्यक्ष नरेन्द्र सी ले नेकपाको आन्दोलनले मात्र जेन्जी आन्दोलनको मर्म समेट्ने भएकाले जेन्जी पुस्तालाई नेकपामा गाेलबन्द हुन अपिल गरेका छन। नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।
अध्यक्ष नरेन्द्र सीले मेचिदेखि महाकाली सम्म जेन्जीको आन्दोलनमा नेकपाले पूर्ण समर्थन गर्दै आन्दोलित भएको बताए । उनले जेन्जी पुस्ताले चाहेको परिवर्तन नेकपाले लिएको एकीकृत जनक्रान्तिमार्फत नेपाली विशेषताको समाजवादले मात्र पूरा गर्न सक्ने ठोकुवा गर्दै सम्पूर्ण नेपाली जेन्जी तथा ननजेन्जी पुस्ताले पश्चगमनतिर होइन, नकि यथास्थितिवादमा फसेर नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि नेपाली विशेषताको समाजवादमा जाने जमर्को गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचीव बुर बहादुर घलान (ज्वाला) ले त जेन्जी उमेर समूहका पुस्ताले १० वर्षे जनयुद्धमार्फत संघर्ष गरेर स्थापना गरेको गणतन्त्रलाई भरपुर प्रयोग गर्दै समाजवादतर्फ उन्मुख हुनु नै अबको देश निर्माणको निकास भएको बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुरका उपाध्यक्ष ध्रुव भुजेलले पनि आफ्नो मत व्यक्त गर्दै जेन्जी आन्दोलनले उत्पन्न गरेको राष्ट्रिय परिस्थितिलाई निकास दिलाउन अब सबै कम्युनिस्ट पार्टीहरु एक ढिक्का भएर देश निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका संयोजक सद्धाम हुसेन, नेकपा बहुमत मकवानपुरका सल्लाहकार प्रेम तितुङ, बौद्धिक मन्च मकवानपुरका अध्यक्ष डा. विमल केशरी, अधिवक्ता केशव गौतम, नागरिक सरोकार मन्छ मकवानपुरका संयोजक उमेश गुणी, नेकपा मालेका संयोजक हरिकृष्ण अधिकारी लगायतले आफ्नो टीका टिप्पणी सहित सल्लाह सुझाव प्रस्तुत गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी र जिल्ला सेक्रेटरी पेमा सीको विशेष आतिथ्यता रहेको छ भने सागर घताने लागयतको आतिथ्यता रहेको थियो ।
जिल्ला सचिवालय सदस्य सुर्य सीले सन्चालन गरेका जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रमको सभाध्यक्ष नेकपा हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]