नेपाल संवत् ११४६ प्रारम्भ

२०८२ कार्तिक ६ गते, बुधबार

काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । अहिले सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने कामको सुरुवात छ ।

प्रतिक्रियाहरु

[anycomment]