‘अहिले एकीकरणमा जाने ठीक समय होइन’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टी एकीकरणमा जाने ठीक समय नभएको बताएका छन ।सो पार्टीको जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले सो कुरा बताएका हुन्।
सम्मानित नेता खनालले अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिदै भने- अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जाने ठीक समय होइन। क्रान्तिकारी पार्टी बनाउन छोडेर माओवादीकै पछि लाग्ने हो भने जानुस्।’
सम्मानित नेता खनालले हालको राजनीतिक परिस्थिति र पार्टीको कमजोरीमाथि कडा टिप्पणी गर्दै यो एकीकरणको बेला नभएर पार्टी निर्माण र वैचारिक सुदृढीकरणको बेला भएको सम्झाए । उनले जेन-जी आन्दोलनको उथलपुथललाई राजनीतिक नेतृत्वको असफलतापछि उत्पन्न असन्तोषको संज्ञा दिए । यो भयानक असफलताको जिम्मेवारी हरेक दलका नेतृत्वले लिनपुर्ने बताउदै भने- ‘जेन-जीले डिस्कोर्डमार्फत् लाखौँ मान्छे सडकमा उतारे। दुईतिहाइ वा अन्य कुनै पनि सरकारले भूमिसुधार गरेन, कृषिक्रान्ति ल्याउन सकेन। जनतासँगको दूरी बढ्दा असन्तोष विस्फोट भयो। ’
सम्मानित नेता खनालले पार्टीभित्रको कमजोर संगठन, मार्ग निर्देशको अभाव र सत्ताको खोजीले पार्टीलाई कमजोर बनाएको बताउदै भने-
‘हामीले यति मिहिनेत गर्दा पनि पार्टी बनाउन सकेनौँ। आफैं गर्न नसक्दा अरुलाई आह्वान गरेर हुँदैन। ’
सम्मानित नेता खनालले अध्यक्ष माधवकुमार नेपालप्रति आरोप लगाउँदै पार्टी प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेका कारण संकटमा परेको बताए। उनले भने -‘माधव नेपालले गलत कार्यदिशा समात्नु भयो। यदि उहाँ पार्टी ठीकले चलाउन सक्नु भएको भए आज हामी एमालेसँग तुलना गर्न सक्षम हुन्थ्यौं। यदि तपाईंहरू माओवादीसँग एकीकरणमा जान चाहनुहुन्छ भने जानुस्, म शत्रुता मोल्न चाहन्न। निर्णय तपाईंहरूको हो । केन्द्रीय कमिटीले यसको दूरगामी प्रभावबारे सोच्नुपर्छ । हामी जाली होइनौँ, कम्युनिस्ट व्यापारी होइनौँ। व्यापार त पुँजीपतिले गर्छन्, कम्युनिस्टहरू जनसेवक हुन्। ’
सम्मानित नेता खनालले अहिले एकीककरणको बेला नभएको बताउँदै देश असाध्य अप्ठ्यारो अवस्थामा रहेकाले नेताहरू एकजुट हुनुपर्ने बताए । उनले भने- ‘निर्वाचन हुने हो कि संसद् पुनर्स्थापना हुने हो अलमल छ । तर हामीले निर्वाचनमै जानुपर्छ। शान्तिसुरक्षा नदिई दलहरू निर्वाचनमा जान सक्दैनन् । त्यसैले त्यसका लागि हामीले सरकारलाई दबाब दिनुपर्छ ।’
