२३ जेनजी समूहद्वारा प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग
काठमाडौँ । २३ जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । उनीहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ । यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति समक्ष उनीहरूको आग्रह छ ।
ज्ञापनपत्रमा भनिएको छ- ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन, तसर्थ हामी उक्त विद्रोहमा संलग्न २३ जेनजी अलायन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्नु पर्दछ । अन्यथा यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं ।’

