‘कुमार पौडेलका हत्यारालाई कारवाही गर’

२०८२ मंसिर ६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सर्लाहीले कुमार पौडेलका हत्यारालाई कारवाही गर्न माग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका कार्यालय सदस्य शिला यादवको नेतृत्वमा गएको टोलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाउँदै तत्कालिन नेकपा सर्लाही जिल्ला इन्चार्ज पौडेलको हत्यारालाई कारवाही गर्न माग गरेको हो ।
साथै नेकपा माओवादीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख उमेश अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई पनि ज्ञापनपत्र बुझाएको छ । तत्कालिन नेकपा इन्चार्ज पौडेललाई प्रहरीले २०७६ अषाढ ५ गते गैरन्यायिक तरिकाले हत्या गरेको थियो ।
उनको हत्या गैरन्यायीक भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको भूमिकामाथि शंका व्यक्त गरेको थियो । नेकपाले तत्कालिन आईजीपि सर्वेन्द्र खनाल र बागमती नगरपालिकाका तत्कालिन मेयर भरतकुमार थापामाथि पनि अनुसन्धान गर्न माग गरेको थियो ।
सो पार्टीका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका कार्यालय सदस्य शिला यादवको नेतृत्वमा गएको टोलीले बुझेको ज्ञापन पत्र यस प्रकार रहेको छ – ‘उपर्युक्त सम्बन्धमा २०७६ असार ५ गते ने.क.पा. तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्धारा गैरन्यायिक हत्या गरिएको थियो । सो हत्या गैरज्यायिक भएको तथ्य राष्ट्रिय मानव अधिकार आयोग लगायत संस्थाहरुले पुष्टि गरेका छन । सो घटनाको सम्बन्धमा मृतक कुमार पौडेलकी आमा दुर्गा देवी पौडेलले किटानी जाहेरी दिनु भएको जगजाहेर छ। तर आज सम्म अभियुक्तहरु माथि छानविन गरी कारवाही प्रक्रिया अघि बढाइएको छैन ।
तसर्थ छानविन तथा कारवाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौ। सरकार र स्थानिय निकायले न्याय नदिए जनता आफैले फैसला गर्नु पर्ने वाध्यता आउने छ । तसर्थ पिडितलाई न्याय दिलाउनु हुने छ भने अपेक्ष सहित यो निवेदन दिएका छौ ।’

प्रतिक्रियाहरु

[anycomment]