समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

२०८२ मंसिर २५ गते, बुधबार

काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ। आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ।सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ। उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।यसैगरी,  निर्वाचन आयोगले तोकेको जरिबाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज गरेको छ । आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएको थियो । जस अन्तर्गत १२० दलले निवेदन दिएका थिए । १२० वटा दलभित्र निर्वाचन आयोगले समयमै आय-व्यव विवरण नबुझाएका कारण जरिबाना तोकेका ६ वटा राजनीतिक दल समेत थिए ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले आर्थिक वर्ष २०८०/८१ को आय-व्यय विवरण बुझाएका थिएनन् । यी ६ वटा दलमध्ये एउटाले निर्वाचन प्रयोजनका लागि दिएको दल दर्ताको निवेदन नै फिर्ता लियो । चारवटा दलले अन्य दलसँग संयुक्त चुनाव लड्ने भनेर निवेदन दिए । आयोगले तोकेको जरिबाना पनि तिरे । तर, अखण्ड सुदूरपश्चिम पार्टीले भने जरिबाना रकम तिरेन । जरिबाना नतिरेपछि आयोगले दल दर्ताको लागि दिएको निवेदन नै खारेज गरिदिएको हो ।

निर्वाचन आयोगले २१ फागुनमा तय भएको चुनावमा भाग लिने दलहरूको सूची सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ११४ दलले भाग लिँदैछन् । 

प्रतिक्रियाहरु

[anycomment]