एमाले महाधिवेशन : मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान

२०८२ पुष १ गते, मंगलवार

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उमेदवारी परेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् । त्यसैगरी तीन उपमहासचिव पदका लागि सात जनाले उमेदवारी दिएका छन् । नौ सचिव पदका लागि २० जनाको उमेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र मतदान प्रयोजनका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए । उनका अनुसार एक जना मतदाताले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।
विद्युतीय भोटिङ प्रणाली व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा मेसिन नमूना अभ्यासका लागि र थप १० वटा मेसिन अतिरिक्त रूपमा राखिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]