एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

२०८२ पुष २ गते, बुधबार


काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। आज बिहान अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको हो। मतदानका लागि नेता तथा कार्यकर्ताको लामो लाइन लागेको छ।यसअघि मंगलबार नै मतदान गर्ने कार्यतालिका रहेता पनि प्राविधिक समस्याका कारण बुधबार मात्र मतदान भएको हो। मंगलबार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे बुधबार मतदान हुने भन्दै फर्काइएको थियो।
देशैभरीबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत गर्ने भएका छन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र मत माग्ने क्रियाकलापले चुनावी माहोल तातेको छ।
मतदान सम्पन्न लगत्तै मतगणना शुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने एमालेले जनाएको छ। महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्ने एमालेका नेता तथा कार्यकर्ताको लक्ष्य रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]