नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन भोलिसम्म चल्नेछ ।
