समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएको ठाउँमा अर्को नाम पठाउन आग्रह
काठमाडौँ । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका ८५ जनाले नाम फिर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगले ती ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई पत्राचार गर्ने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम फिर्ता लिएका सम्बन्धित दललाई अर्को नाम पठाउन निर्वाचन आयोगले पत्राचार गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले खाली भएको ठाउँमा आजदेखि आगामी माघ २ गतेसम्म अर्को नाम पठाउन सक्नेछन् ।
निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ । दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।
