निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गए राति (माघ ४ गते )राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गरेको छ। आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।
आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ।
स्थानीय कार्यपालिका र सोका सदस्य, संघ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचारसंहिता लाग्नेछ।
उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ।
पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन्।
मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन्।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ।
आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
१.निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइन्छ?
क. प्रचार-प्रसार
तोकिएको समय र स्थानमा मात्र निर्वाचन प्रचार-प्रसार गर्न पाइन्छ।
ख. कपडाको ब्यानर
निर्वाचन प्रचारको लागि ३x४ फिट साइजको एउटा मात्र रङ भएको कपडाको ब्यानर प्रयोग गर्न पाइन्छ।
ग. सवारी साधन प्रयोग
अनुमति लिएर मात्र तोकिएको सङ्ख्यामा सवारी साधन प्रयोग गर्न पाइन्छ (उम्मेदवारले प्रतिनिधि सभाका लागि बढीमा दुईवटा र प्रदेश सभाका लागि एउटा हलुका सवारी साधन प्रयोग गर्न सक्ने)।
४. सञ्चार माध्यममा विज्ञापन
रेडियो, टेलिभिजन वा पत्रपत्रिकामा तोकिएको समय अवधि (समय सीमा) भित्र रहेर विज्ञापन दिन पाइन्छ।
५. टोपी र टिसर्ट
उम्मेदवारले आफ्नो पहिचान खुल्ने साधारण चिन्ह भएको टोपी वा टिसर्ट लगाउन सक्छन् तर ती वितरण गर्न पाइँदैन।
६. शान्तिपूर्ण जुलुस
स्थानीय प्रशासनको अनुमति लिएर तोकिएको मार्गमा मात्र जुलुस वा आमसभा गर्न पाइन्छ।
७. निर्वाचन आयोगले तोकेको सीमाभित्र निर्वाचन प्रचारप्रसारका लागि खर्च गर्न पाइन्छ तर निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र निर्वाचन खर्चको वास्तविक विवरण आयोगमा बुझाउनुपर्छ।
२. के गर्न पाइँदैन?
(क) सरकारी र सार्वजनिक निकायका लागि
– सरकारी स्रोत, साधन (सवारी साधन, भवन आदि) कुनै पनि पक्षको प्रचारमा प्रयोग गर्न पाइँदैन।
– नयाँ पद सिर्जना गर्ने, नियुक्ति गर्ने, सरुवा वा बढुवा गर्न पाइँदैन । अत्यावश्यक हुँदा आयोगसँग अनुमति लिनुपर्छ ।
– नयाँ योजनाको शिलान्यास गर्ने वा बजेट स्वीकृत नभएका नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन।
ख) राजनीतिक दल र उम्मेदवारका लागि
– निर्वाचन प्रचार-प्रसार वा जुलुसमा बालबालिकालाई प्रयोग गर्न पूर्णतया निषेध छ।
– मतदातालाई लोभ्याउन भोजभतेर गर्न, नगद बाँड्न वा कुनै पनि प्रकारको उपहार दिन पाइँदैन।
– घर वा सार्वजनिक स्थानको भित्तामा रङले लेख्न वा पोस्टर टाँस्न पाइँदैन।
– मन्दिर, मस्जिद, गुम्बा, चर्च वा कुनै पनि धार्मिक स्थलमा निर्वाचन प्रचार गर्न पाइँदैन।
– निर्वाचनको क्रममा कुनै पनि प्रकारको हातहतियार प्रदर्शन वा प्रयोग गर्न पाइँदैन।
(ग) सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि
– कसैको चरित्र हत्या हुने गरी झुटो सूचना फैलाउन, मिथ्या सूचना दिन वा ‘हेट स्पीच’ दिन पाइँदैन।
– अरूको पोष्टमा नकारात्मक प्रतिक्रिया दिन वा अरूलाई अपमान गर्ने गरी सेयर/ट्याग गर्न पाइँदैन।
