‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

२०८२ माघ १३ गते, सोमबार


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । खनालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका छन् ।
खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् ।उनले पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको टिप्पणी गरेका छन् । उनले पार्टी एकता घोषणाको लामो समय भइसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै एकाध व्यक्तिको चाहनामा ठूला निर्णय हुन थालेको आरोप समेत लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘यतिवेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ । तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकिकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् । यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]