आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट नेपाली सेना परिचालन भएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत बुधबारबाट देशभर ७९ हजार ७२७ सेना खटिँएका छन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।
सहायक रथी बस्नेतले भने – संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । ‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ।’
मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो । ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो । अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरू पनि सुरु भएका छन् ।
यस्तै सेनाले निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर, इटहरी गरी पाँच ठाउँमा हेलिकप्टर पनि ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ । विकट ठाउँ तथा अतिसंवेदनशील क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनकै अवधि र निर्वाचनपश्चात मतपेटिका ढुवानीको काममा समेत हेलिकप्टरको प्रयोग हुनेगरी व्यवस्था मिलाइएको सहायक रथी बस्नेत बताउँछन् । केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरूमा पनि हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र ढुवानी सेनाले गर्नेछ ।
त्यस्तै निर्वाचन सकिएपछि पनि यस्ता ठाउँहरूमा हेलिकप्टरमार्फत नै मतपेटिका गणनास्थलसम्म ल्याउने काम सेनाले गर्नेछ । यस्तै सेनाले निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थ प्रयोग गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर बम डिस्पोजल टोली पनि तैनाथ राखेको बताएको छ । त्यस्ता टोली अति संवेदनशील मतदानस्थल भएका क्षेत्रमा ‘अलर्ट’मा राखिएको छ ।
यसैगरी, निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि ठुलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने सहायक रथी बस्नेत बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरु, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरुको सुरक्षा सेनाले गर्नेछ । यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।
यसैगरी,फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिएका छन् । प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन भएका छन भने सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन भएका छन् । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिएका छन् ।
