निर्वाचनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन

२०८२ फाल्गुन १५ गते, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनका लागि २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएको छ । आयोगले आज विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुसंग गरेको छलफलमा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन सम्पन्न गर्न दुई लाख १५ हजार कर्मचारी फिल्डमा खटाइएको जानकारी दिए । उनले मतदाता शिक्षाका लागि दश लाख नमूना मतपत्रसहित ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएको पनि जानकारी दिए ।
यस्तै आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको जनाएको छ । आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको हो ।
आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले आयोगको कार्यतालिका अनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो ।
आयोगले यस पटकको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी जानकारी दिंदै कुल मतदाता मध्ये ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेको जनाएको छ । आयोगले विदेशी पत्रकार र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र पास उपलब्ध गराइने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु