नेवानिको विमान दुर्घटना
काठमाडौं, । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबिओ (9 N ABO) विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेको छ ।विमानमा चालक दलका दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ र यात्रुहरु ,डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा, २ वर्षको बच्चा हेमसुङसहित २२ यात्रु सवार थिए । विमानमा रहेका चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्धार भएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये चालक दलका तीन सदस्यसहित ६ यात्रुको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकामा चालक दीपेन्द्र प्रधान, सहचालक सुरेश केसी र परिचारिका सन्तमाया तामाङ, यात्रुहरु गोविन्द पहाडी पर्वत, जापानी पर्यटक एस अकावा र खवेसा चियोलाई तारा एयरको विमानबाट पोखरातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
घाइतेहरुमा चालक र सहचालकलाई बढी चोट लागेको छ भने अन्य घाइतेको अवस्था बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिईएकोछ ।
दुर्घटनाग्रस्त विमानको आधा भाग कालीगण्डकी नदीमा खसेको छ भने आधा भाग विमानस्थलको सुरक्षाका लागि राखिएको तारबारमा अल्झिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना र स्थानीयवासीले उद्धार गरिरहेका छन् भने अन्य घाइतेको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ ।