प्रेम गर्दा देश निकाला !

काठमाडौ । गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाम भैरबस्थान २ का १७ बर्षका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दिँदै १० बर्ष नेपाल र्फकन नपाउने उर्दी सुनाएर देश निकाला गरेका छन् । सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्यमकुमारी बिसीसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ ।प्रहरीलेसमेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको नयाँ पत्रिकामा खबर छ । त्यसपछि कथित उच्च जातिका गाउँलेको समूहले सामूहिक यातना दिँदै गैरदलितसँग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई १४ चैत ०६९ मा देशनिकाला गरेको उनका बाबु बसिे तिरुवाले बताए ।महिलाका बाबु टेकबहादुर बुढालगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसीलगायत गैरदलितले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्ष नेपाल नफर्किने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ । दलित भएकै कारण विकलाई देश निकाला गरेको डेढ महिना भइसक्दा पनि सहयोग गर्ने कोही नुहँदा घटना बाहिर आउन सकेको थिए ।