पतिलाई छोडेर देवरसँग विवाह

राजविराज, – पतिसगको विवादपछि घर छाडेकी भाउजूले देवरसँग बिहे गरेकि , सप्तरीमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत निवासी २५ वर्षीया आशाकुमारी साह तथा विराटनगर उपमहानगरपालिका– १२ बस्ने ३० वर्षीय विकास साहबीच स्थानीय भगवती मन्दिरमा भएको बिहे अहिले चर्चाको विषय बनेको छ ।उनीहरू नातामा देवर–भाउजू पर्छन् । एक महिनाअघि मात्र विकासका सहोदर दाजु विशालसँग आशाको बिहे भएको थियो । बिहे भएको १०÷१५ दिनपछि नै आशाले पति विशालको अर्कै युवतीसँग गहिरो प्रेम सम्बन्ध रहेको चाल पाएकी थिइन् । पति विशाललाई निकै सम्झाउने प्रयास गरे पनि असफल भएपछि आशा घर छाडेर माइत बस्दै आएकी थिइन् ।
यसैबीच, देवर विकासले आशासँग बिहे गर्ने प्रस्ताव उनको अभिभावकसमक्ष पठाएका थिए । सो प्रस्तावमा आमाबुबा सहमत भएपछि शनिबार राजविराजस्थित भगवती मन्दिरमा दुवैबीच विवाह सम्पन्न भएको हो । विवाहमा विशाल अनुपस्थित रहे पनि उनका आमाबुबा भने उपस्थित भए ।
भाउजूको व्यवहारबाट आफू निकै प्रभावित भएकाले दाजुसँग सम्बन्ध बिग्रिए पनि आफूले बिहे गर्ने इच्छा देखाएको र सो पूरा भएकोमा निकै खुसी लागेको विकासले प्रतिक्रिया दिए ।
यता, आशाले विशालको चालचलन राम्रो नभएको तथा परस्त्रीसँग सम्बन्ध रहेकाले उनलाई त्याग गरेको बताइन् । विकासको व्यवहार र चालचलन राम्रो भएकाले बिहेको प्रस्ताव स्विकारेको जनाउँदै आशाले भनिन्, ‘विकाससँग आफ्नो वैवाहिक सम्बन्ध सुमधुर रहनेमा ढुक्क छु ।’
हिन्दू परम्पराअनुसार सम्पन्न बिहेमा दुवै पक्षका अभिभावकका साथै उपस्थित अधिकारवादी, कानुन व्यवसायी, सेफ हाउसका प्रतिनिधि र सञ्चारकर्मीलाई लड्डु बाँडिएको थियो । आदर्श बिहेमा सिन्दुर, पोते, माला, लड्डु र पण्डितको दक्षिणामा गरी १ हजार ५ सय ५० रुपैयाँ खर्च भएको विकासले बताए ।