यार्सागुम्बा टिप्न हजारौको लर्को

काठमाडौं ।मूल्यवान यार्सागुम्बा सङ्कलन गर्न ज्यानको जोखिम मोलेर डोल्पा र मुगुका विकट हिमाली पाखाहरुमा पुगेका सर्वसाधारणको सङ्ख्या ३० हजार नाघेको बताइएको छ । कर्णाली अञ्चलको डोल्पा र मुगु जिल्लामा अत्यधिक पाइने यार्सागुम्बा विशेषगरी वैशाखको अन्तिम सातादेखि असारको अन्तिम सातासम्म करिब ३ हजारदेखि ५ हजार मिटरसम्मको भू–भागमा पाइन्छ । यो प्रायः माटोमुनि जीवित किरासँगै भेटिन्छ ।
यतिबेला कर्णाली अञ्चलका ३० प्रतिशत मानिस यार्सा खोजीको चटारोमा छन् । जुम्लाका ताम्ती, गुठीचौर, पटमारा, बुम्रमाडीचौर, मालिकावोता, डिल्लीचौर, छुमचौर र पातारासी गाविसका युवा, विद्यार्थी र केही शिक्षक यार्सा टिप्न माथिल्लो भेगतर्फ लागेका छन् ।डोल्पा र मुगु जिल्लाका अधिकांश बस्तीका मानिसहरु कमाइको प्रमुख स्रोत मान्दै दुई महिनाका लागि सम्पूर्ण घरखेती त्यागेर यसमा लागेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ ।
यार्सा टिप्नका लागि दैलेख, कालीकोट, अछाम, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम र रोल्पा जिल्लाका जनता डोल्पा र मुगु जिल्लामा एकत्रित छन् ।