मुक्त कमलरीको प्रदर्शनमा प्रहरीको धरपकड
काठमाडौं, जेठ १९ – सिंहदरबार घेराउ गरिरहेका मुक्त कमलरीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।दाङ लालमटियाकी सृजना चौधरीको हत्यामा संलग्नलाई कारबाही तथा शिक्षा, स्वास्थ्यको माग गर्दै आइतबार विहान सिंहदरबार दक्षिण ढोकामा धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धरपकड गर्दै केहीलाई पक्राउ गरेको छ । प्रहरीले कुटपीट गर्दै पक्राउ गरेको संघर्ष समितिले जनाएको छ ।
हत्यामा संलग्नलाई कारबाही, पीडित परिवारलाई राहत लगायतका माग गर्दै मुक्त कमलरी केही दिनदेखि काठमाण्डौं रत्नपार्कमा धर्ना बस्दै आएका छन् । सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले आइतबार सिंहदरबार घेराउ गरेका हुन् ।ललितपुरका एक घरमा कमलरी बसेकी सृजनाको गएको चैत १४ गते हत्या भएको थियो । कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समितिले मुक्त कमलरीको शिक्षा, स्वास्थ्य र न्यायको लागि समेत सरकारसित माग गर्दै आएको छ ।
संघर्ष समितिका अनुसार अहिलेसम्म १२ हजार कमलरी जमिन्दारको घरबाट मुक्त भैसकेका छन् भने ५ सय २६ जना पहिचान भएर पनि मुक्त हुन बाँकी छन् ।