सतर्कता केन्द्रको ६ महिने अभियान
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले केन्द्रमा परेका उजुरी छ महिनाभित्र फस्यौट गर्ने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका बारेमा जानकारी दिन केन्द्रद्वारा आयोजित पत्रकारसम्मेलनमा केन्द्रका प्रमुख अधिकृत माधवप्रसाद रेग्मीले सो जानकारी दिँदै भने, ‘अब केन्द्रमा परेका उजुरीलाई फस्यौट गर्न छ महिनाभन्दा पर जाँदैन, यसका लागि केन्द्रले आन्तरिक तयारी पूरा गरेको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअर्न्तर्गत रहने गरी २०५९ साउन २७ गते स्थापित सो केन्द्रले नेपाल सरकारका भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि पर््रबर्द्धनात्मक तथा निरोधात्मक कार्य गर्दछ ।
केन्द्रका काम कारबाहीलाई अझ चुस्त, प्रभावकारी बनाउन केन्द्रले गत फागुनदेखि कार्यस्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरी छ महिनाभित्रमा केन्द्रमा परेका उजुरीलाई फस्यौैट गर्नसक्ने भएको हो । वि.सं २०६९ को वैशाखदेखि यही असार मसान्तसम्म केन्द्रमा एक हजार ९९ उजुरी दर्ता भएका थिए । तीमध्ये अधिकाशं उजुरी फर्स्याैट भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सबै जिल्लामा केन्द्रको कार्यालय स्थापना नहुँदा, कानुनी अधिकृत तथा प्राविधिक जनशक्ति अभावले गर्दा केन्द्रले आफ्नो कार्यलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने समस्या परिरहेको जनाएको छ । हालसम्म ५५ जिल्लामा केन्द्रको शाखा कार्यालय स्थापना भएको र अगामी आर्थिक वर्षा थप १२ जिल्लाका नयाँ कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजना तथा रु. ५० करोडभन्दा माथिका आयोजनाहरुको निर्माण कार्यको प्राविधिक परीक्षण गर्ने जिम्मेवारी पनि केन्द्रलाई दिएको छ । केन्द्रलाई त्यस्ता आयोजनाहरुको निर्माण कार्यमा परीक्षण गर्नसक्ने प्राविधिक जनशक्ति नहुँदा समस्या परिरहेको छ । अगामी दिनमा उनले औषधिको गुणस्तर, उच्च माध्यमिक शिक्षा परिषद्का काम कारबाही, मेडिकल शिक्षालगायतका क्षेत्रमा केन्द्रले विशेषरुपमा अनुगमन गर्नलागेको जानकारीसमेत दिए । अर्कातर्फकेन्द्रका मातहतमा ३५ जना मात्र प्रहरी जनशक्ति हुँदा केन्द्रलाई आफ्नो काम कारबाही चुस्त बनाउन समस्या परिरहेको छ । स्थापना समयमा केन्द्रका मातहतमा १०७ प्रहरी रहेका थिए ।
पत्रकारसम्मेलनमा केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौडेलले केन्द्रले विभिन्न १३ वटा जिल्लामा गरेको अध्ययनमा सबैभन्दा बढी सप्तरी र सबैभन्दा कम गुल्मी जिल्लामा भ्रष्टाचार हुने गरेको जानकारी दिए । दूरसञ्चार प्राधिकरणको विद्युतीय हाजिर छड्के जाँच गर्दा प्राधिकरणले १३ मिनेट कम समय निर्धारण गरिएको पाइएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।