नगर निरीक्षकहरु अख्तियारको फन्दामा
काठमाडौ, ३० असार – काठमाडौं महानगरपालिका पाँच नगर निरीक्षकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति कमाएको अभियोगमा अनुसन्धान थालेको छ । महानगरको पार्किङ, फुथपाथ, होडिङ वोर्ड, अपार्टमेन्ट लगायत मापदण्ड विपरीत बनेका घर निर्माणमा अकुत सम्पति कमाएको अभियोगमा अख्तियारले अनुसन्धान थालेको हो ।नगर निरीक्षक धनपति सापकोटा, विष्णुप्रसाद जोशी, मनोज लामिछाने, दिनेश अर्याल र राजुनाथ पाण्डेमाथि आयोगले अनुसन्धान थालेको छ । आयोग स्रोतका अनुसार मापदण्ड विपरीत घरको नक्सा लगायतमा अकुत सम्पति कमाएको भन्ने उजुरी परेपछि अनुसन्धान थालेको हो ।पाँचै निरीक्षकले छोटो समयमा अकुत सम्पति कमाएको भन्ने पटक-पटक उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाएको हो । ‘अनुसन्धान जारी छ, कतिलाई बयान पनि बोलाएका छौं, सबैकुरा अनुसन्धानपछिमात्र थाहा हुन्छ, महानगरका अन्य अधिकारी उपर पनि उजुरी परेका छन्’ स्रोतल्यो भन्यो ।
महानगरका अधिकारीका अनुसार चार जना निरीक्षक लगायत केही विभागीय प्रमुख माथि आयोग अकुत सम्पति लगायत विभिन्न उजुरीको आधार छानवीन थालेको हो । ‘छानवीन थालेको छ, सम्पतिमात्र होइन’ ति अधिकारीले भने ।त्यसैगरी सई बद्री नगरकोटी र पूर्णचन्द्र भट्टमाथि पनि अकुत सम्पति र हवलदार हर्क थापालाई फुटपाथ पसलबाट पैसा उठाउन लगाएको अभियोगमा छानविन प्रक्रिया अघि बढाएको छ ।हवलदार थापाले निरीक्षक राजुनाथ पाण्डे, दिनेश अर्याल र विष्णु जोशीको आदेशमा फुटबाट पैसा उठाएको करीव छ महिना अघि बयान दिएका थिए । हवल्दार थापाले नगरकोटी र भट्ट आफूभन्दा माथिल्लो दर्जाको भएकाले चेन अफ कमान्डका आधारमा विभिन्न पसलबाट पैसा उठाएर बुझाएको स्वीकारेका थिए । उनले पुरानो बसपार्क, साइकलवाला, फलफूल व्यापारीबाट मासिक पन्ध्र हजार रुपैयाँ, खिचापोखरीस्थित पसलबाट सात हजार रुपैयाँ र अन्य पसलबाट मासिक आठ हजार रुपैयाँ उठाएर सईद्धय भट्ट र नगरकोटीलाई बुझाउँदै आएको महानगरलाई दिएको बयानमा उल्लेख छ ।
महानगरको प्रशासन महाशाखामा दिएको बयानपत्रमा भनिएको छ, सीतापाइलाको कपडा र गाडामा व्यापार गर्नेबाट लिएको मासिक चार हजार रुपैयाँ असई जनार्दन अधिकारीलाई बुझाएको हो ।’ त्यसभन्दा अगाडि असई राजकुमार चौलागाईंले उठाउने गरेको पाइएको छ ।
त्यसैगरी जमलको फलफूल पसलबाट उठाउने गरेको ८ हजार रुपैयाँ र रत्नपार्कमा राखिएको जुत्ता पसलबाट उठाएको महिनावारी, हप्तावारी पैसा प्रशासन र विभागका कर्मचारीसम्म पुग्ने गरेको छ । बयानमा गौशाला, कलंकी, कालिमाटी, स्वयम्भू, वनस्थली माछापोखरी, बालाजु, कान्ति अस्पताल, भोटाहिटी लगायतका पसलबाटसमेत पैसा उठाउने गरेको बयानमा उल्लेख छ ।
त्यसैगरी खुलामञ्च, मखन लगायतका पसलबाटसमेत अन्य प्रहरीले उठाउने गरेको माथिल्लो निकायलाई थाहा हुँदाहुँदै पनि तल्लो दर्जाको कर्मचारीमात्र बलिको बोका बनाएको थापाको लिखित बयानमा उल्लेख छ ।
आफूले उठाउने गरेको कुनै पनि महिनावारी, हप्तावारी कमान्डरकै आदेशमा गरेको भन्दै कारबाही गर्दा आफूलाई मात्र गरिएको उनको बयानपत्रमा छ । पहिलोपटक यस्तो काम गरेको बाहिर आए पनि यस्ता काम वषौदेखि हुँदै आएका छन् । ‘कामको सिलसिलामा आथिर्क प्रलोभनका कार्यमा अधिकृतस्तर कमान्डरबाटै हुने र सहायक इन्चार्ज (सई) को तहबाट काम गर्नु लगाउने, नमान्दा गाली गर्ने र पेल्ने कार्य हुँदै आएको” बयानमा छ । हवल्दार थापाले महिनावारी, हप्तावारी उठाउँदै आएको रकम कमान्डरलाई बुझाउँदै आएको बताए । महानगरले थापालाई निलम्बन गरेको छ ।