चुनवाङ नेपालकै पहिलो जातीय छुवाछूतमुक्त गाविस

२०७० श्रावण ३ गते, बिहीबार

रुकुम, ३ साउन । रुकुम जिल्लाको चुनवाङ देशकै पहिलो जातीय छुवाछूतमुक्त गाविस घोषणा भएको छ ।चुनवाङ गाविसका कुनै पनि ठाउँमा जातीय विभेद नरहेको भन्दै चुनवाङलाई जिल्लाको पहिलो छुवाछूतमुक्त गाविस घोषणा गरिएको हो ।घोषणासभामा सहभागीले यसअघि नेपालको कुनै पनि गाविसलाई जातीय छुवाछूतमुक्त गाविस घोषणा नगरिएकाले चुनवाङ नेपालकै पहिलो छुवाछूतमुक्त गाविस हुनपुगेको दाबी गरे ।
गाविसका कुनै पनि गैरदलितको घरमा दलित बिनारोकतोक आवतजावत गर्ने, सँगै खाने र बस्ने वातावरण सिर्जना भएपछि चुनवाङलाई छुवाछूतमुक्त गाविस घोषणा गरिएको दलित सङ्घ सङ्गठनहरूको संयुक्त सञ्जाल संयुक्त दलित जनअधिकार फोरमका संयोजक उपेन्द्रलाल कामीले बताए ।
जिल्लास्तरीय टोलीको नेतृत्व गर्दै चुनवाङ पुगेका रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले संयुक्तरुपमा चुनवाङलाई जातीय छुवाछूतमुक्त नमुना गाविस घोषणा गरेका हुन् ।यो घोषणासँगै चुनवाङ गाविस एक लाख ५० हजार राशिको पुरस्कार पाउन सफल भएको छ । चुनवाङलाई छुवाछूतमुक्त गाविस घोषणा गर्न त्यहाँ पुग्नुभएका स्थानीय विकास अधिकारी शर्माले जिल्लामा उदाहरणीय काम भएको भन्दै चुनवाङलाई जिल्ला विकास समितिको तर्फबाट रु एक लाख ५० हजार दिने घोषणा गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]