बालबालिकाको खेलौनामा घातक रसायन

२०७० श्रावण ६ गते, आईतवार

काठमाडौँ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले काठमाडौँ, ललितपुर, भक्तपुर र बनेपाका फुटपाथदेखि सुपर मार्केटसम्म संकलन गरेको खेलौनामा गरेको प्रयोगशाला परीक्षणबाट बालबालिकाले खेल्ने अधिकांश खेलौनामा बालस्वास्थ्यलाई गम्भीर असर पार्ने खालका रसायनहरु पाइएको छ । संस्थाले गरेको रसायन परीक्षणबाट कुल ५४ प्रतिशत खेलौनामा कुनै न कुनै बालस्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल पाइएको संस्थाका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले जानकारी दिए । उनका अनुसार २८ प्रतिशतमा सिसा, १ प्रतिशतमा पारो, ९ प्रतिशतमा क्याडमियम, ४० प्रतिशतमा ब्रोमिन र १४ प्रतिशतमा क्रोमियम पाइएको थियो । ती सबै खेलौनामा अन्तर्रााट्रय मापदण्डभन्दा धेरै बढी रसायन पाइएको जनाइएको छ । ३.६ पीपीएमदेखि ८ हजार ३ सय ५ दशमलब ८ पीपीएमसम्म रसायन पाइएको बिहीबार रिपोर्र्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैज्ञानिक साहका अनुसार सिसाले रक्तकोषिका मार्ने, मष्तिष्क र स्नायूको विकासमा अवरोध गर्ने, मृगौलामा समस्या, नपुंसकता बनाउनेसम्मको समस्या ल्याउँछ भने क्याडमियमले हड्डी कमजोर बनाउँछ । मर्करीले स्नायू, पाचनप्रणाली, श्वासप्रश्वाससहित मृगौला र फोक्सोलाई असफल पार्ने काम गर्छ । त्यस्तै ब्रोमिनले आँखा, घाँटी, स्नायू र फोक्सोमा असर गर्छ भने क्रोमियमले एलर्जी गराउँछ । सोसम्बन्धी परीक्षण नेपाल सरकार, उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग तथा नेपाल हस्तकला संघको संयुक्त प्रयासमा स्थापित नेपाल हेण्डिक्राफ्ट टेस्टिङ ल्याब्रोटरीमा गरिएको थियो । कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चकी सचिव विमला खनाल र नेपाल ग्रिल ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बजार अहिले उपभोक्तामारा बनेको भन्दै सोही कारण कानुनअनुसारको अधिकार प्राप्त गर्न उपभोक्ताहरुले नसकेको दावी गरे । उनीहरुले बालबालिको बाच्न पाउने अधिकारमाथि प्रत्यक्ष खेलवाड भएको आरोप समेत लगाए ।

प्रतिक्रियाहरु

[anycomment]