सहकारीको विषयमा झडप तीन घाइते, १२ पक्राउ

२०७० श्रावण ८ गते, मंगलवार

चितवन, ८ साउन । चितवनको पद्मपुरमा महिलाले सञ्चालन गरेको साना किसान कृषि सहकारीको विषयमा स्थानीयबीच झडप भएको भएको छ ।
झडप नियन्त्रणमा लिन गएका दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक रत्न विक, हबल्दार रामलाल भगत र स्थानीय दिपा पुरी रहेका छन् ।चितवनको भरतपुरमा उपचार भइरहेको छ । झडपका क्रममा १२ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
साना किसान सहकारीले हालै खरिद गरेको जग्गाको विषयमा शेयर सदस्यहरु दुई पक्षमा विभाजित भएपछि झडप सिर्जना भएको स्थानीयले बताएका छन् ।असन्तुष्ट पक्षले आज सहकारीमा ताला लगाउने क्रममा झडप भएको बताइएको छ । झडपका क्रममा सहकारीको भवनमा समेत क्षति पुगेको र अहिले सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।दुई हप्ताअघि असन्तुष्ट पक्षले लगाएको ताला हिजो संस्थापन पक्षले फोरेको थियो । ताला फोरिएपछि असन्तुष्ट पक्षहरु आज पुनः ताला लगाउन जाने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।स्थानीय विष्णु सिंखडाले असन्तुष्टहरुले बाहिरी व्यक्तिलाई संलग्न गराएर झडपको स्थिति सिर्जना गरेको आरोप लगाए ।असन्तुष्ट पक्षले भने जग्गा खरिदको विषयमा शेयर सदस्यलाई जानकारी नै नगराई एकलौटी गरेकाले यो अवस्था आएको जनाएको छ । समस्या समाधानका लागि अहिले चितवनमा बैठकको तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]