उपहार दिन्छु बन्दै खुकुरी प्रहार
पोखरा,११ साउन – पोखरामा तनहुँ दुलेगौंडाकी १९ वर्षकी रुपा मगरले आफ्नै पुरुष साथीलाई खुकुरी प्रहार गरी आत्महत्या गरेकी छन् । रुपाले उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर स्याङ्जाका २० वर्षका त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरेकी हुन् ।फोनमार्फत सम्पर्क भएपछि भेटघाटका लागि पोखराको ड्यामसाईडमा रहेको होटल अशोकमा पुगेका उनीहरु केही समय कुराकानी गरेपछि कोठा लिएर भित्र पसेको केहीबेरमै युवक शर्मा चिच्याउँदै बाहिर निस्किएका थिए ।आफूलाई युवतीले खुकुरी प्रहार गरेको भन्दै बाहिर निस्केर शर्माले कोठाको चुकुल लगाएर सञ्चालकको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । केही समयपछि होटलमा पुगेको प्रहरीले युवतीलाई सिलिङ्गमा सलको पासो लगाएको अवस्थामा मृत भेटेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका घाईते शर्माको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।प्रहरी बयानमा युवकले ती युवतीलाई फोनमार्फत हिजो मात्रै चिनेको बताएका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता सन्तोष खड्काले बताए ।