‘ बौद्ध ‘ डिजिटल सुरक्षा निगरानीमा
काठमाडौं ,१३ साउन – महानगरीय प्रहरी बृत्त बौद्धले आजवाट चावहिल चोकदेखी जोरपाटीसम्म डिजिटल सुरक्षा निगरानी बढाउन एकिकृत सुरक्षा प्रणाली सञ्चालन गर्ने भएको छ। सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रहरुमा क्लोज सर्किट टेलिभिजन जडान गरी आजबाट आधुनिक पद्धतीको सुरक्षा प्रणाली शुरु गर्न लागेको बृत्तले जानकारी दिएको छ।बृत्तका डिएसपी मनोज केसीका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील बौद्ध स्तुपा क्षेत्रमा जडान भएका जडान गरिएको छ।स्वतन्त्र तिब्बतका समर्थकहरुको सक्रियता रहेको बौद्ध स्तुपा परिसरमै केही महिना अगाडि एक भिक्षुले आगो लगाएर आत्मदाह गरेका थिए।
बौद्ध क्षेत्रमा रहेका स्तुपाहरुमा चीन विरोधी गतिविधि हुनसक्ने आशंकाले प्रहरीले निगरानी राख्दै आए पनि आधुनिक उपकरणको अभावमा प्रहरीले सोचेजस्तो परिणाम हासिल गर्न सकेको छैन।’स्तुपा क्षेत्रमा जडान भएका सिसिटिभी बौद्ध विकास समितिको हो,’ केसीले भने, ‘त्यसलाई समेत बृत्तमा राखिएको एकिकृत सुरक्षा प्रणालीमा जोडिएको छ।’अपराध तथ्यांक अनुसार नयाँबस्ती, जोरपाटी, कपन, लगायतका क्षेत्र समेत बढी अपराध हुने क्षेत्र हुन्। बृत्तले आफ्नो क्षेत्रको सहज निगरानीका लागि चावहिल चोकदेखि जोरपाटी चोकसम्म १९ वटा सिसिटिभी जडान गरिसकेको छ। जडानका लागी करिव २५ लाख खर्च भएको डिएसपी केसीले बताए।दुबै क्षेत्रमा गरी जडान गरिएको ३५ वटा सिसिटिभीलाई एकिकृत रुपमा बृत्तको कार्यालयमा एकै सञ्जालमा जोडिएको छ।डिएसपी केसी भौतिक रुपमा प्रहरी मात्रै खटाउँदा समेत अपराधको प्रत्यक्षदर्शीको अभावमा अपराध अनुसन्धान जटिल बन्ने गरेको अनुभव सुनाउँदै सिसिटिभीका आधारमा प्रमाण संकलन समेत सहज हुने बताए।उच्चक्षमताका सिसिटिभी जडान गरिएकाले चावहिल चोकदेखि जोरपाटीसम्मका सडकमा हुने हरेक गतिविधीको सहज निगरानीका लागि बृत्तमा २४ सैं घन्टा अनुगमन टोली परिचालन गरिएको उनले बताए।