आज गठेमंगल पर्व

२०७० श्रावण २१ गते, सोमबार

काठमाण्डौं,२१ साउन ।आज श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले गठेमंगल पर्व मनाउदै छन् । यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरी राक्षसीस्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु उपिया“, उडुस भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले उसको दहन गरिएको कथन छ । किंवदन्तीअनुसार एक युवकको खान्दानी युवतीसँग प्रेम परेको र समाजले नस्विकारेकाले युवकलाई बेवारिसे बनाइयो । युवक मर्दा उसको शव सडकमै भेटिएकाले आगो सल्काएर नगरवासीले दहन गरेको प्रसंगबाट यस दिन परालको मानव बनाई दहन गर्ने चलन रहेको संस्कृतिविद् डा.चुन्दा बज्राचार्यले बताइन् ।
यस दिन घरको ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाडिन्छ । ‘कुतŒवको आँखा नपरोस्’ भनेर विभिन्न मन्त्र लेखिएको जन्तर ढोकामाथि टाँग्ने गरिएको बज्राचार्यले जानकारी दिइन् । ‘भूत पन्छाउन घरबाहिर खाना, रगत, जाँड, मासु, छ्यापी चढाउने गरिन्छ,’ उनले भनिन् । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न फलामको औंठी लाउने चलन पनि छ । यी औंठीलाई गठा मंगलमा छुवाएर लाउनुपर्ने हुन्छ ।ज्यापु समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]