आजबाट गुँला पर्व सुरु

२०७० श्रावण २३ गते, बुधबार

काठमाडौ,२३ साउन – बौद्ध धर्मावलम्बीहरुको गुँला धर्म पर्व आजबाट सुरु भएको छ । स्वयम्भू महाचैत्यको सेवा गर्ने एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले बिहान सबेरै गुँलाबाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा विहारको परिक्रमा गर्दछन् । स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैको विजयेश्वरीको दर्शन गरी उनीहरू केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न पुग्ने गर्दछन् । त्यसपछि उनीहरू विभिन्न बौद्ध मन्दिर परिक्रमा गरी आ-आफ्ना घर र्फकन्छन् । गुँला पर्वको एक महिनाभित्र वर्षभर दिवंगत भएका आफन्तको सुखावति भवनमा बास परोस् भन्ने कामना गर्दै उनका परिवारले शंृगभेरी अर्थात् सिंग बाजा फुकाउँदै स्वयम्भू महाचैत्यको प्रदक्षिणा गर्दछन् । महाचैत्यको परिक्रमा गर्दै बौद्ध स्तोत्र, धारणी, नामसंगिती तथा सद्धर्मग्रन्थ पाठ गर्ने गर्दछन् ।
धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण यस गुँला -साउन महिना) मा नै नाग पञ्चमी -नागदह मेला), यलपञ्चदान, रक्षाबन्धन जनैपूणिर्मा -कुम्भेश्वर मेला), गाईजात्रा, पाटनमा मतःयाः जात्रा, देवपत्तनमा खड्ग जात्रा र रोपाईं जात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने तथा पञ्चदान पर्व पर्दछन् ।
कोही बौद्ध विद्वान्का अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्य सेवा गर्ने चलन भइसकेको थियो । त्यही सेेवालाई अहिले ‘गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएका हुन् । ललितपुरमा भने यसै पर्वका अवसरमा बुधबारदेख पाँच दिनभित्र धाःबाजा, नेकुबाजा, दमोखीं, तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै पुल्चोक, तेता, ईःबही र लगनखेलमा रहेको थूर परिक्रमा गर्ने परम्परा रहेको बताइञ्छ ।

प्रतिक्रियाहरु

[anycomment]