कमलरी मुक्त कथा मात्र

२०७० श्रावण २५ गते, शुक्रबार


काठमाडौं,२५ साउन । मुक्त कमलरी विकास मञ्चले दाङको घोराहीमा पत्रकार सम्मेलन गरी सरकारले कमलरी मुक्तको घोषणा गरेपनि अझै दाङ सहित पश्चिम नेपालका पाँच जिल्लामा ५ सय बढी बालिका अझै कमलरी रहेको पाइएको बताएको छ ।दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी ५ सय १२ कमलरी बालिकालाई मुक्त गर्न बाँकी रहेको जानकारी दिएको हो । सरकारले साउन ३ गते कमलरी मुक्त घोषणा गरिसकेको छ । तर अझै राजनीतिक पहुँच, सरकारी उच्च ओहदा र पहुँचबालाहरुले कमलरी बालिका राखेकाले पहिचान र उद्धारमा समस्या भएको मञ्चकी अध्यक्ष मञ्जिता चौधरीले जानकारी दिइन ।
दाङमा ३, बाँकेमा ७०, बर्दियामा १ सय २७, कैलालीमा ५८ र कञ्चनपुरमा २ सय ५४ जना बालिकाहरु अझै बिभिन्न व्यक्तिको घरमा कमलरी छन् । त्यस्तै २७ जना वेपत्ता, ११ जना कुमारी आमा र ५ जनाको हत्या भएको मञ्चले जानकारी दिएको छ ।
यसैबीच १३ बर्षको अबधिमा पाँच जिल्लाबाट अहिलेसम्म १२ हजार ५ सय कमलरीलाई मुक्त गरिएको छ । त्यस्तै १० हजारलाई औपचारिक शिक्षा, १ हजारलाई व्यवसायिक तालिम, ६० जनालाई प्राविधिक शिक्षा, १४ विद्यालयमा ६० कक्षा कोठा निर्माण गरिएको असहाय नानीहरुको साथी एफएनसीका कार्यकारी निर्देशक राजु धमलाले जानकारी दिए ।त्यस्तै ७५ जनालाई स्वरोजगार, ३१ वटा सहकारी सञ्चालन, ८ सय बढीलाई बिद्यालय सामाग्री सहित छात्रबृति प्रदान गरिएको छ । कमलरी मुक्तिको अभियान सुरुभए यता १३ बर्षमा करिब १५ करोड रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसवीचमा ४२ जना घरमालिक विरुद्ध मुद्धा दर्ता र ५ जनालाई जेल सजायँ भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।एफएनसीले लिदै आएको कमलरी मुक्ति र पुनर्स्थापनाको नेतृत्व मुक्त कमलरीहरुको संस्था मुक्त कमलरी बिकास मञ्चलाई हस्तान्तरण गरिएको छ । करिब ४० लाख बराबरको भौतिक सामाग्री र आयआर्जन एंव संस्थागत विकासका लागि २१ लाख रुपैयाँ पनि मञ्चलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]