प्राधिकरण उच्चतहका कर्मचारी अख्तियारको फन्दामा

काठमाडौ, ४ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव सहित १० जना उच्चतहका कर्मचारीलाई पक्रेको छ ।विद्युत वितरण ट्रान्सफर्मर खरिदमा करोडौ रुपैयाँ भ्रष्टाचार भएको सम्बन्धि मुद्धाको अनुसन्धानका क्रममा प्राधिकरणका योजना प्रमुख कृष्णबहादुर थापा, इन्जिनियर प्रमोद रिजाल, लेखाका उपनिर्देशक कृष्णवहादुर केसी, ११ औ तहका अधिकृत देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्यलाई पक्रेको हो ।
यस्तै, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, अवकाश प्राप्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टीकाराम विसीलाई पनि हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
कमसल ट्रान्सफरमर खरिद सम्बन्धि अभियोगमा भइरहेको अनुसन्धानका आधारमा अहिलेसम्म संकलित प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । अख्तियारले यसअघि २ जना विदेशी सहित प्राधिकरणका १० जना कर्मचारीलाई पक्रेको थियो ।
यस्तै, अध्यागमन विभागका कर्मचारीले सेवाग्राहीबाट समय समयमा रकम लिने गरेको समाचारका आधारमा अख्तियारले ५ जना कर्मचारीलाई पक्रेको छ । अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहाल र देवर्षि सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने र विश्वराज खरेल र कार्यालय सहायक जयनारायण नापितलाई आयोगको टोलीले हिरासतमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।