साउनमा झन्डै आधा लाख विदेशिए
काठमाडौ, ९ भदौ । चालु आर्थिक वर्षको साउनमा करिब झन्डै आधा लाख अर्थात ४६ हजार नेपाली युवा वैदेशिक रोजगारका लागि विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार संस्थागत र व्यक्तिगत रुपमा ४५ हजार ९ सय ३७ नेपाली युवा रोजगारीका लागि विभिन्न मुलुकका लागि विदेशिएका हुन् । गत आवको साउनको तुलनामा चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या ४० दशमलव ५४ प्रतिशत बढी रहेको पनि विभागले जनाएको छ। गत आवको साउनमा ३२ हजार ६ सय ८५ जना युवा वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।साउनमा ३९ हजार ४९ जना संस्थागत (म्यानपावर कम्पनीबाट) रुपमा रोजगारीमा गएको र व्यक्तिगत र वैधानिकीकरण भएर जानेको संख्या ६ हजार ८ सय ८९ जना रहेको विभागले जनाएको छ ।
गत आवको तुलनामा संस्थागत रुपमा विदेशिनेको संख्या २८ प्रतिशत बढेको छ भने व्यक्तिगत रुपमा रोजगारीमा जानेको संख्या २६ प्रतिशतले कमी आएको छ। साउनमा व्यक्तिगत रुपमा विदेशिनेको संख्या १ हजार ६ सय ८६ छ । गत आवमा भने यो संख्या २ हजार २ सय ८० थियो ।यो महिना सबैभदन बढी कामदार मलेसिया गएका छन् । मेलेसियामा रोजगारीमा जानेको संख्या साउनमा १६ हजार ६ सय १२ जना रहेको छ । यस्तै कतार १० हजार ७ सय ८५, साउदी ८ हजार ७ सय ५२, युएई ५ हजार ६ सय ९१, कुवेत १ल हजार ८ सय ५६ जना युवा रोजगारीका लागि गएको विभागले जनाएको छ। यो महिना रोजगारीका क्रममा घर विदामा आई पुनः श्रमस्वीकृति लिएर रोजगारीमा फर्कनेको संख्या ८ हजार ६ सय १५ रहेको छ ।