महोत्तरीमा प्रहरी र स्थानीयबीच झडप

२०७० भाद्र ११ गते, मंगलवार

महोत्तरी ,११ भदौ । महोत्तरीको सोनौल गाविसमा सोमबार प्रहरी र स्थानीयबीच नदी खन्ने क्रममा दोहोरो झडप हुँदा १२ जनाभन्दा बढी घाइते भएका छन् ।
झडपमा सोनौल-९ का राजकिशोर यादव, भजन राय, रामस्नेही ठाकुर, रामभजन यादव, राजा यादव, वौएलाल साह, सन्तोष साहसहित १२ जनाभन्दा बढी व्यक्ति घाइते भएका हुन् । घाइतेहरुको बलबा तथा सरपल्लाकोका विभिन्न निजी स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
सोमबार महोत्तरीको पुरानो पुरिसकेको जङ्गहा नदीलाई उत्खनन र नदी फर्काउने कार्यका लागि सोनौल गाउँमा निजी जमिन खन्न लाग्दा स्थानीयवासीले विरोध गरेपछि प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।जिल्लाको बलबा, मनरा, रामगोपालपुर र इटहर्वाबाट गएका प्रहरी र स्थानीयबीच नदी खन्ने क्रममा भएको विवादले झडपको रुप लिएको हो ।
सोमबार अबेर साँझसम्म भएको सो झडपमा स्थानीयवासीले दुईवटा नम्बर नखुलेका ट्रयाक्टरमा तोडफोडसमेत गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले ४/५ घण्टा लामोे दोहोरो झडपलाई साम्य पारी वार्ताबाट समस्या समाधान गर्ने प्रतिबद्धता जारी गरेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुर धनुषाको रु २० लाखको लागतमा वषौर्ंदेखि पुरिएको जङ्गहा नदीलाई पुनः जीर्णोद्धार गरिने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]