गुणस्तरहिन ट्रान्सर्फमरबाट लाखौ युनिट विद्युत चुहावट
काठमाडौ , १३ भदौँ – नेपाल नेपाल विद्युत प्राधिकरणले खरिद गरेको गुणस्तरहिन ट्रान्सर्फमरका कारण वाषिर्क १३ लाख युनिटभन्दा बढी विद्युत चुहावट भएको छ । झण्डैं १६ सय ट्रान्सर्फमरबाट मात्रै वाषिर्क एक करोड भन्दा बढी चुहावट भएको खुलेको हो । १२ घण्टा विद्युत आपूर्ति हुने र कुल क्षमताको आधा विद्युत मात्रै खपत हुने अनुमानका आधारमा गरिएको परिक्षणबाट तीन वर्षमा ४० लाख युनिट चुहावट भएको भेटिएको हो ।’आल्मुनियमको क्वाईल भएको ट्रान्सर्फमर खरिद गरेका कारण यसरी ठूलो परिमाणमा विद्युत चुहावट भएको देखिन्छ’ अख्तियार स्रोतले भन्यो, ‘ल्याव परिक्षणको तुलनामा बजारमा जोडिने ट्रान्सर्फमरमा प्राविधिक चुहावट दर बढी हुने भएकाले नोक्सानी अझै बढी हुने निश्चित छ ।’ गुणस्तरहिन ट्रान्सर्फमरलाई ल्याव परिक्षण गरी चुहावट दर निकालिएको छ । ल्याव परिक्षणको तुलनामा व्यवहारिक प्रयोगका क्रममा अझै बढी चुहावट हुने प्राविधिकहरु बताउछन् । यसमा उपभोक्ताले गर्ने विद्युत चोरीको समस्या जोडिएको छैन ।
प्राधिकरणले हुवई सनलाईटबाट खरिद भएको १० देखि ३०० केभीए क्षमताको १ हजार २ सय ६० ट्रान्सर्फमर खरिद गरेको थियो । त्यसैगरी सेन्याङ कम्पनीबाट खरिद भएका २५ देखि १०० केभीएका ३ सय ९५ थान ट्रान्सर्फमर पनि गुणस्तरहिन भेटिएका थिए । ‘ती ट्रान्सर्फमरको ल्यावमा गरिएको प्राविधिक परिक्षणका आधारमा वाषिर्क १३ लाख युनिट विद्युत चुहावट भएको देखिन्छ’ प्राधिकरणको आन्तरिक छानविन प्रतिवेदनमा भनिएको छ, ‘सीमित मापदण्डका आधारमा मात्रै परिक्षण गर्दा भेटिएको चुहावट दर निकै उच्च हो, ग्राहस्थ खपत दर अनुसारमात्रै एक करोड रुपैंयाभन्दा बढी नोक्सानी हुन्छ ।’
अख्तियारले तयार पारेको अनुसन्धान प्रतिवेदनले सनलाईट कम्पनीका १ हजार २ सय ६० वटा ट्रान्सर्फमरबाट वाषिर्क साढे दुई करोड रुपैंयाका दरले विद्युत चुहावट भएको ठहर गरेको छ । अनियमितताका कारण चुहावट भएको निचोड सहित छानविन प्रतिवेदनले चुहावटको नोक्सानीलाई समेत जोडेर विगो कायम गरेको हो । दोब्बर रकम भराई लिन पाउने व्यवस्था अनुसार अख्तियारले चुहावटबाट १५ करोड ६५ लाख रुपैंया भ्रष्टाचार भएको ठहरेको छ ।