काठमाडौं म्याराथन असोज ५ मा
काठमाडौं, २७ भदौ । प्रो स्पोर्ट्स प्रालिको आयोजनामा सातौं रियल काठमाडौं म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । असोज ५ मा हुने सो म्याराथनको सबै १० विधामा मिलाएर कुल नगद पुरस्कार ७ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस म्याराथनलाई नेपालकै ठूलो म्याराथन आयोजना मानिन्छ ।
डाबर नेपालद्वारा उत्पादित रियल फ्रुट जुसको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अनुमानित २० राष्ट्रका करिब ६ हजार प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट ५२ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा महिला/पुरुषको फुल र हाफ म्याराथन, महिला/पुरुषको ५ किलोमिटर खुला दौड, स्कुलतर्फ छात्र÷छात्राको ५ किलोमिटर दौड तथा महिला/पुरुषको ह्विलचेयर स्पर्धामा प्रतिस्पर्धा आयोजक प्रमुख निलेन्द्रराज श्रेष्ठले जानकारी गराए । दसओटै विधामा नगद पुरस्कारको व्यवस्था छ ।फुल म्यारथनको पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २० हजार नगद पुरस्कार पाउनेछन् । दुवै समूहमा चौथोदेखि दसौं स्थानमा दौड पूरा गर्नेलाई पनि नगद पुरस्कार दिइनेछ । हाफ म्याराथनको पुरुष/महिलामा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछन् । ५ किलोमिटर खुला दौडको पुरुष/महिलामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकी चारै विधाका प्रथमले १० हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजारका दरले नगद पुरस्कार जित्नेछन् ।