भारतीय प्रहरीद्धारा नेपालमा छापा
बर्दिया,२ असोज । भारतको लखीनपुर खिरी जिल्ला प्रहरीका डिएसपीउदयप्रताप सिंहसहित १४ जनाको टोलीले बर्दियाका मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाल प्रहरीको समन्वय बिना छापा मारेको छ । भारतीय प्रहरीको हत्या अभियोगमा फरार रहेका मोना सरदार गुलरियास्थित मञ्जुलकुमार श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले छापा मारेको हो ।छापा मार्नेमा डिएसपी उदयप्रताप सिंहको नेतृत्वमा १४ जना भारतीय प्रहरी रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरु भारतीय नम्बर प्लेट युपी ३१जी ००४० को गाडीसहित आएका बताइएको छ । भारतीय प्रहरीको हत्याको आरोपित गुलरियास्थित मञ्जुलकुमार श्रेष्ठको घरमा लुकेकाले उसलाई पक्राउ गर्न टोली नेपालमा आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।उनले टोली नेपालमा आएपछि वा आउनु पूर्व समन्वय तथा कुनै जानकारी नगराएको वताए । अन्र्तराष्ट्रिय मान्यता अनुसार कुनै अर्को देशमा दुई देशको प्रशासनिक समन्वय भएपनि छापा मार्न नपाईने कानून रहेको प्रमुख जिल्ला अधिकारी मानवहादुर विकेले वताएका छन् ।