पत्रिकाको कुरा फेसबुकमा हाल्दा जेल!
काठमाडौं,१४ असोज – सम्पादक दिनेश आचार्यलाई सेयरबजार साप्ताहिकमा छापिएको निर्वाण चौधरीसम्वन्धी समाचार फेसबुकमार्फत् सेयर गरेको अभियोगमा विद्धुतीय कारोबार ऐन अनुसार प्रहरीले पक्राउ गरेको छ। २ महिनाअघि चौधरीले आचार्यविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा इन्टरनेटमार्फत् आचार्यले आफ्नो चरित्र हत्या गरेको दावी गर्दै उजुरी दिएका थिए।चौधरीले सो फेसबुकमा सेयर गरिएको पोस्ट लाइक गर्नेलाई समेत कारबाहीको माग गरेका थिए। पछि उनले उजुरीमा पोस्ट लाइक गर्नेको नाम फिर्ता लिएका थिए। समाचारको प्रारम्भिक स्रोत जुन हो त्यहीबाट आकर्षित हुने कानुनी प्रावधान रहेपनि छापा माध्यममा प्रकाशित समाचार विद्युतीय माध्यमबाट पुन प्रसारित भएको आधारमा उनलाई समातेको हो।यसअघि यस्तै प्रकरणमा प्रहरीले उजुरीकर्तालाई छापा माध्यमलाई गरिने कारबाही अनुसार प्रारम्भमा प्रेस काउन्सिल पठाएको थियो। तर, आचार्यको हकमा भने प्रहरीले फरक व्यवहार गरेको छ।
अनलाइन पत्रकार संघका अध्यक्ष केपी ढुंगानाका अनुसार यो घटनामा पत्रकारलाई त्रुटीपूर्ण कानुनको शिकार बनाइएको छ। ‘त्रुटीपूर्ण कानुनी दफाको व्याख्या नै नगरी मनपरीरुपमा कार्यान्वयनमा ल्याउनु आफैमा गलत हो,’ ढुंगानाले भने, ‘पत्रिकामा छापिएको समाचार त्रुटीपूर्ण हो भने प्रेस काउन्सिल मार्फत् कारबाही गरे हुन्छ। तर, पत्रकारलाई नियोजितरुपमा फसाउन बैकल्पिक कानुन अवलम्वन गर्नु खेदपूर्ण छ।’काठमाडौं परिसरका एसएसपी सुवोध घिमिरेले केस अदालतमा पुगिसकेकाले उनलाई हाजिर गराउन नियन्त्रणमा लिइएको जानकारी दिए। ३५ दिनभित्र प्रहरीको सम्पर्कमा नआएकाले मुद्दा अदालत पुगेको हो।