महिला सम्मेलन हुदै
काठमाडौ , १५ असोज- अस्मिता संस्था र एक्सन एड इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा ललितपुरमा ‘पहिचान, शक्ति र रूपान्तरणका लागि महिला सम्मेलन’ को आयोजना हुँदैछ । दुईदिने सो सम्मेलनमा लोकतान्त्रिकीकरण र महिलाका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आयामसँग सम्बन्धित विभिन्न विषयका १८ कार्यपत्र प्रस्तुत हुनेछ ।सम्मेलनले महिलालाई स्वायत्त रुपमा सार्वजनिक र निजी पहिचान प्राप्त गर्नका लागि अवरोध सिर्जना गर्ने सीमा तथा अभावका सम्बन्धमा नीति निर्माता, राजनीतिक नेता, नागरिक समाजका सदस्य र राज्यका प्रतिनिधिबीच गम्भीर सार्वजनिक विचारविमर्शलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।सम्मेलनलाई महिला अधिकारका सवालमा विविध विचार र दृष्टिकोण बोकेका अधिकारकर्मी, प्राज्ञ, बुद्धिजीवी तथा अन्य सरोकारवालालाई एकै ठाउँमा ल्याई महिलालाई महत्वपूर्ण सवालमा गहन अन्तक्र्रिया र विचारविमर्श गराउने साझा मञ्चका रुपमा लिइएको छ ।सम्मेलनमा महिलाद्वारा महिलाका सम्बन्धमा लेखिएका पुस्तकको विशेष प्रदर्शनी तथा कलाकार अश्मिना रञ्जित र एघारजना विद्यार्थीबाट कला प्रदर्शनी गरिने छ ।