ज्येष्ठ नागरिक दिवस मनाईंदै
काठमाडौं, १५असोज – आज २३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस , “हामी ज्येष्ठ नागरिकले भनेजस्तै भविष्य चाहन्छौं ” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरुलाई प्रभावित गर्ने खालका मुद्दाहरु वृद्धावस्था र दुव्र्यवहारका बारेमा जागरुकता बढाउन हरेक वर्ष अक्टोबर १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।आफ्नै अभिभावकलाई समेत युवा पुस्ताले बोझका रुपमा लिने र उनीहरुको ईच्छा नबुझ्ने प्रवृत्ति बढेकाले बुढेसकालमा जीवनयापन सहज होस भन्ने उद्धेश्यले यो वर्ष ज्येष्ठ नागरिकको चाहना अनुसारको भविष्य निर्माणमा जोड दिइएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले ज्येष्ठ नागरिकहरुले खाना, आश्रयस्थल, स्वच्छ पानी र सरसफाई, आधारभूत स्वास्थ्य सेवा र शिक्षामा पहुँच हुने खालको विश्व चाहेको भन्दै उनीहरुको चाहनाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
ज्येष्ठ नागरिकको अधिकार र गरिमाको रक्षा गर्दै समाजमा उनीहरुको पूर्ण सहभागीताका लागि रहेका बाधाहरु पन्छाउने प्रतिबद्धता जनाउन पनि उनले आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा ६० वर्ष माथिको उमेरका मानिसको संख्या २ अर्ब नाघ्ने अनुमान गरेको छ । यस्तै ८० वर्ष या त्यो भन्दा माथिको उमेरका मानिसको संख्या ४० करोड पुग्ने अनुमान छ ।नेपालमा २६ लाखको हाराहारीमा ज्येष्ठ नागरिक रहेका छन् । बृद्धावस्थामा परिवार, समाज र राज्यबाटै अपहेलित हुनुपरेको भन्दै पछिल्लो समय ज्येष्ठ नागरिकहरु आन्दोलित छन् ।उनीहरुले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सिटको व्यवस्था गर्र्नुपर्ने, मासिक भत्ता ५ सय बाट बढाएर ३ हजार बनाउनुपर्नेलगायतका माग राखेका छन् ।