खाद्य संस्थानले बुधबारदेखि खसीबोका बिक्री गर्ने
काठमाडौँ, १५ असोज । नेपाल खाद्य संस्थानले दसैँका लागि बुधबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाडौँ ल्याइएका खसीबोकाको भोलिसम्म मूल्य निर्धारण गरी बिक्री गरिने भएको हो । आमउपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यसपटक चाँडै बिक्री गर्न लागिएको संस्थानले जनाएको छ ।
अघिल्लो वर्षको दसैँमा घटस्थापनाको दिनबाट बेच्न सुरु गरिए पनि यसपटक व्यापारीहरुले गाउँमै गएर खसी ढुवानी गर्न सुरु गरेकाले पछिसम्मलाई खसीबोका ढुवानी गर्न सक्ने अवस्था नभएकाले चाँडै बिक्री गर्न लागिएको संस्थानको भनाइ छ ।
आमउपभोक्ताको हित र सुविधालाई मध्यनजर गर्दै यसपटक तीन/चार दिन चाँडैदेखि खसीबोका बिक्री गर्न लागिएको संस्थानका महाप्रबन्धक डा शिवहरि श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोमबारसम्म ६०० खसीबोका काठमाडौँ भित्रिएको र भोलि साँझसम्म एक हजारभन्दा बढी खसीबोका भित्रिने छन् । बुधबारबाट चार/पाँच दिनसम्म दैनिक ४०० देखि ५०० को हाराहारीमा भित्रिनेछन् ।
संस्थानले खरिद गरिएका खसीबोका किन्ने ठाउँदेखि बीचबाटो, थानकोट र काठमाडौँमा बिक्री स्थलसम्म चारपटक स्वास्थ्य परीक्षण गरिने जनाएको छ ।
यसैगरी सरकारको नीतिअनुरुप संस्थानले हिन्दुहरुको महान चाड बडादसैँ तथा तिहारका लागि प्रतिकेजी रु दुई छुट सुविधासहित विभिन्न जिल्लामा सुपथ मूल्यका पसल सञ्चालन गरिएको महाप्रबन्धक श्रेष्ठले बताउनुभयो ।
संस्थानका अनुसार ५० हजार क्विन्टल चामलमध्ये उपत्यकामा २० हजार र बाहिर ३० हजार बिक्री भइरहेको र उक्त छुट सहुलियत सुविधा सरकारले क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । रासस