खाद्यले खसीबोका बिक्री सुरु गर्यो
काठमाडौं, १६ असोज । नेपाल खाद्य संस्थानले आजदेखि उपत्यकामा खसीबोकाको बिक्री खुला गरेको छ । प्रत्येक वर्ष घटस्थापनाको भोलिपल्टदेखि बिक्री खुला गरिँदै आएकोमा यस वर्ष भने दुई दिनअगाडि वितरण खुला गरेको छ । दसैंलाई लक्षित गरी संस्थानले एक साताअघि खसीबोका भित्र्याई बिक्री खुला गरेको हो । संस्थानले यस वर्ष खसीबोकामा चारथरी मूल्य निर्धारण गरेको छ ।संस्थानका अनुसार २० केजीसम्म ३ सय ७० रुपैयाँ, २० केजीदेखि २४ केजीसम्म ३ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । २४ केजीदेखि ३० केजीसम्म ३ सय ९० रुपैयाँ र ३० केजीदेखि माथिका खसीबोकामा ३ सय ९५ रुपैयाँ मूल्य निर्धारण गरिएको संस्थानले जनाएको समाचार लक्ष्मी सापकोटाको बाइलाईनमा आजको राजधानी दैनिकले छापेको छ ।
गत वर्ष संस्थानले दुईथरी मूल्यमा २५ केजी तलका प्रतिकेजी ३ सय ४ रुपैयाँ र ३५ केजीमाथिका खसीबोकालाई ३ सय १४ रुपैयाँमा निर्धारण गरेको थियो ।यस वर्ष संस्थानले नेपालगन्ज, सुर्खेत र लहानबाट ३ हजार ४ सय खसीबोका ल्याउने भएको छ । संस्थान अञ्चल कार्यालय बाग्मतीका प्रमुख श्यामभक्त वैद्यले मंगलबारसम्ममा नेपालगन्जबाट १ हजार ७० ओटा खसीबोका भित्रिसकेको जानकारी दिए । विभिन्न जिल्लाबाट खसीबोका आउने क्रम जारी रहेको उनले जानकारी दिए । दसैंलाई लक्षित गरी ल्याउने खसीबोका एक साताअघि नै उपत्यकामा भित्रिएपछि बिक्रीमा चलखेल हुने देखिएको छ ।
उपभोक्ताले फूलपातीपछि मात्र खसीबोका खरिद गर्ने भए पनि दसै सुरु नहुँदै खसीबोकाको बिक्री खुला गरेपछि व्यापारीले सस्तोमा खरिद गरी महँगोमा बेच्ने सम्भावना रहेको छ । दसैंमा बजारमा खसीबोकाको कारोबार बढी हुने भएकाले व्यापारीले मनपरी मूल्यमा बिक्री गर्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले प्रत्येक वर्ष खसीबोका बिक्री गर्दै आएको छ ।नेपालगन्ज संस्थान कार्यलयले बोका प्रतिकिलो ३ सय ३५, २५ केजी तलका खसी प्रतिकेजी ३ सय ३० र ३५ केजीमाथिका खसी प्रतिकेजी ३ सय ३५ रुपैयाँमा खरिद गरेको छ ।लहानमा १६ केजीमाथिका बोका ३ सय ३० रुपैयाँ र २५ केजीमाथि खसीमा ३ सय ५० रुपैयाँ खरिद मूल्य निर्धारण गरेको छ । यस्तै, सुर्खेतमा १६ केजीमाथिका बोकामा २ सय ९० रुपैयाँ र २५ केजीमाथिका खसीमा ३ सय रुपैयाँ खरिद मूल्य निर्धारण गरेको छ । दसैंमा बजारमा खसीबोका महँगो भई बजार हस्तक्षेप गर्न संस्थानले प्रत्येक वर्ष खसीबोका ल्याउने गरेको छ ।एक साताअगावै खसीबोका आयात हुँदा व्यवस्थापन गर्न कठिनाइ हुने अञ्चल प्रमुख वैद्यको भनाइ छ । संस्थान खरिद–बिक्री विभागका प्रमुख नवराज उपाध्याय यस वर्ष दोब्बर खसीबोका ल्याउन लागिएकाले पनि लक्ष्य पूरा गर्नु अगाडि नै खसीबोका उपत्यका भित्र्याइएको बताए ।
यस वर्ष खरिद मूल्य नै बढी परेकाले बिक्री मूल्यसमेत बढ्ने संस्थानले बताएको छ । यस वर्ष संस्थानले नेपालगन्ज, लहान, हेटौंडाबाट ३ हजार ४ सय खसीबोका ल्याउन लागेको छ । यस वर्ष बजार मूल्य नै बढेकाले खसीबोकाको मूल्य बढ्ने सम्भावन रहेको संस्थानले बताएको छ । यस वर्ष लागत मूल्य बढेकाले खसीबोकाको मूल्य बढ्न गएको संस्थानले बताएको छ । स्थानीय माग धान्न नसकेपछि बाहिरबाट ठूलो परिणाममा खसीबोका भित्रिने गरेका छन् ।यस वर्ष व्यापारीले भने ४५ देखि ५० हजारको हाराहारीमा उपत्यकामा खसीबोका भित्रिने बताएका छन् । पशुसेवा विभागका अनुसार दसैंको समयमा उपत्यकामा करिब ६० हजारसम्म खसीबोकाको कारोबार र १२ लाख किलो मासुको खपत हुने गरेको छ । मासु व्यवसायी जीवन खतिवडाले यो वर्ष बजार मूल्य बढेकाले मासुको मूल्य बढ्ने बताए ।