आज दसैंको तेस्रो दिन

२०७० आश्विन २१ गते, सोमबार

काठमाण्डौं ,२१ असोज । हिन्दु नेपालीहरुको महान् चाड विजयादशमीको आज तेस्रो दिन । शक्ति स्वरुपा, चन्द्रघण्टाको पूजाआजा गरी मनाइदैछ । देशभर रहेका देवीका मन्दिरमा आज विहानैदेखि सर्वसाधारण भेला भएर पुजापाठ गरिरहेका छन् । काठमाण्डौंका विभिन्न क्षेत्रमा रहेको देवीका पीठ, दक्षिणकाली, गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेबी लगायतका देशका विभिन्न स्थानमा रहेका भगवतिको मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको ठुलो भीड लागेको छ ।प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
यसैबिच , बडादसैँ मनाउने सिलसिलामा सडकमार्गद्वारा करिब १० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।हाल दैनिक थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय सार्वजनिक यातायात सेवाका बस यात्रु लिएर गुडेको महाशाखाले जनाएको छ । त्यस्तै चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन उपत्यकाबाट यात्रु लिएर बाहिरिने गरेको पनि महाशाखाले जनाएको छ ।दसैँका मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले विशेषगरी घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् । मुख्य चाडबाडका मुखमा हुने यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउन महाशाखाले नाकामा बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरेको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रुको हितका लागि काम गर्दैआएको जनाइएको छ ।यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाहीको प्रक्रिया पनि जारी रहेको बताइएको छ । यसैबीच असोज महिनाको सुरुदेखि हालसम्म दिउँसो मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु