मनसुन सकियो
काठमाडौ, २२ असोज । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुन निष्क्रिय बन्दै गएको जनाएको छ । सामान्यतया नेपालमा जुन २३ देखि सेप्टेम्बर २३ सम्म मनसुनको अवधि मानिन्छ ।यस वर्ष मनसुन ढिलो सुरु भएकाले सकिने समयावधि पनि लम्बिएको मौसमविद् शिव नेपालले बताए ।
गत दुई वर्षदेखि नेपालमा ढिलो मनसुन सुरु भएको महाशाखाले अभिलेख गरेको छ । महाशाखाले दुई÷तीन दिनमा मनसुन सकिएको आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।सो घोषणासँगै यसवर्षको मनसुनको अवधिमा वर्षाको परिमाणसमेत सार्वजनिक गरिने छ । सामान्यतया एक हजार ३०० देखि एक हजार ४०० मिलिलिटर वर्षा हुनुलाई नेपालमा औषत वर्षा मान्ने गरिन्छ । यसपटक औषतभन्दा बढी नै वर्षा भएको अनुमान महाशाखाले गरेको छ ।
पश्चिमी वायुको बलियो प्रभाव रहेकाले पनि केही दिनदेखि मुलुकका विभिन्न स्थानको मौसममा नकारात्मक असर देखा परेको थियो ।अझै केही साता बिहान तथा बेलुका केही चिसो बढे पनि दिउँसो गर्मी नै रहने जनाइएको छ ।