आज बकरिद

२०७० आश्विन ३० गते, बुधबार

काठमाडौं , ३० असोज- मुस्लिम समुदायको ईद पछिको महान चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन्। यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ। आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन्। यस वर्ष नेपालबाट एक हजार २०० भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन्।
मुसलमानहरूका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो। रमजानजस्तो कठोर ब्रत नबस्नुपर्ने यो पर्व इदुल फित्रको ठीक ७० औँ दिन मनाइन्छ। कुरबानीका लागि नेपाली मुसलमानहरूले खसी, भैँसी एवम् बाँझो पाठीलाई इदुजोहाको नमाज पढेर घर आइसकेपछि बली चढाउँछन् जसलाई कुरबानी भनिन्छ। कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यहरूको नाममा पनि चढाइन्छ।
धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहका नवि इव्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाहको आदेशमा कुरबानी दिन गएका थिए। तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न एवं खुशी भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माईलको ठाउँमा दुम्बा (भेडा) कुरबानी गरिएको थियो।
यसै दिनदेखि मुसलमानहरूले अल्लाहको आदेशलाई पालना गर्दै कुरबानी दिँदै आएका छन्। कुरबानीको लागि उपयुक्त हुने वस्तुको सिङ, कान, पुच्छर, आँखा एवं खुर दुरुस्त हुनुपर्छ।

ठूलो जनावर भए सात जना मिलेर कुरबानी दिइन्छ भने खसी, बाख्री एक जनाको नाममा कुरबानी दिनु पर्छ। कुरबानीको मासु तीन भाग लगाइ एक भाग आफ्ना लागि, बाँकी दुई भाग इस्टमित्र र समाजका मानिसलाई बाँढ्नु पर्ने तथा कुरबानी भएका जनावरको छालाको रकम मदरशालाई दिनुपर्ने धार्मिक मान्यता छ।
इदुजोहाका नमाज पनि मुसलमानहरूले पूर्णरूपमा चोखो भई इदगाह वा मस्जिदमा गएर पढ्ने गर्दछन्। यस वर्ष इदुजोहा मनाउन व्यस्त सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुल देशमा शान्तिको कामना गर्दै भने– यो पर्वमा महिमा एवं गरिमाले नेपालमा सुख र शान्ति ल्याओस्।
जियाउल हक प्राथमिक पाठशाला सुनसरी चाँदबेलाका नाजिम मोहम्मद इनुसले गएको वर्ष जस्तै यो वर्ष आफूले दुईवटा कुरबानी दिइरहेको बताउनुभयो। यसबाट धार्मिक आस्थालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको उनको भनाइ छ। यस्तै, विराटनगर सरौचिया निवासी मोहम्मद तनविरले पनि कुरबानीका लागि रु १० हजारमा खसी किनेका छन्। उनले इदुजोहा पर्वको दिन छरछिमेका इष्टमित्रलाई बोलाई विभिन्न परिकारका मिठो खानेकुरा खुवाउने तयारीमा जुटेको बताए। लगभग २० लाख मुसलमान रहेको नेपालमा इदुजोहाका दिन करिब पाँच लाख कुरबानी हुने अनुमान गर्न सकिन्छ। तीन दिन मनाइने यो पर्व यस वर्ष महान चाड दसैँ सँगसँगै परेकाले कुरबानी हुने भैँसी, खसी र बाँझो पाठी महँगिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु