आज भाइटीका, उत्तम साइत ११ बजेर २७ मिनेटमा
काठमाडौ , १८ कात्तिक। भाइटीका लगाउन आज बिहान ११ बजेर २७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यद्यपी भाइटीकाको दिन मंगलबार दिनभरि नै राम्रो साइत भएकाले आफू अनुकुल लगाउँदा राम्रो हुने समितिले जनाएको छ ।
भाइटीकामा दिदी बहिनीले दाजु-भाईलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार पकाएर खुवाउने गरिन्छ ।तिहारले अहिले गाउँघर झिलिमिली भएको छ । पहिलो दिन कागको पुजा गरी सुरु भएको तिहारमा सोही दिनबाटै घर, चोक, बस्ती र नगर बत्तीले झिलिमिली पारिएको छ । आइतबार गाइको पूजा गरेर साँझ लक्ष्मीमाताको पूजाआजा गरी रातिदेखि नै देउसी भैलो खेल्ने काम सुरु भएको छ । गाउँ तथा सहरमा केटाकेटी, युवापुस्ताहरु विभिन्न समूह बनाई देउसी भैलो खेली रमाईरहेका छन् ।