छठ पर्व सुरु
काठमाडौं, २० कात्तिक । मिथिलाञ्चलको महान् पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।छठ पर्वको पहिलो दिन आज व्रतालु (उपासक) हरुले ( नहा खा) नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् ।
छठ पूजाको दोस्रो दिन भोलि खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाने गर्दछन् ।त्यस्तै यस पर्वको तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । छठ पर्व मनाउन आज व्रतालुहरु नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपैयाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरुले सजाउने कार्य गरिरहेका छन् ।