छठ मनाइँदै, आज सार्वजनिक विदा

२०७० कार्तिक २२ गते, शुक्रबार

काठमाडौं, २२ कात्तिक । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व आज श्रद्धापूर्वक मनाइँदैछ । मिथिलाञ्चलको महापर्व छठ काठमाण्डु उपत्यकालगायत तराई क्षेत्रमा विशेषरुपमा मनाइँदै छ । छठ पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।अस्ताउँदो सूर्यलाई जलाशयमा नुहाइ धुवाई गरी विधिपूर्वक आज पहिलो अर्घ दिइ छठ पर्व मनाउन सुरु गरिन्छ । भोलि बिहान भने उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने चलन छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परागत चलन रहि आएको छ । छठी माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र दीर्घायू हुने धार्मिक विश्वास छ ।
आजको दिन काठमडौं उपत्यकाका रानीपोखरी, कमलपोखरी, वागमती, विष्णुमती नदीको किनारमा छठपर्व मनाउनेहरुको भीड लागेको छ । त्यस्तै विशेषगरी तराईमा मनाइने यस पर्वका अवसरमा धनुषाको गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सर, अग्निकुण्डलगायतका पोखरी तथा तलाउमा श्रद्धालु भक्तजनहरुको हिजो रातिदेखि नै भीड लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु